मोरङ । राष्ट्रिय परिवर्तन पार्टीले औपचारिक संगठन विस्तारको मोरङ जिल्लाको घोषणा सभा आयोजना गर्ने भएको छ । आइतबार बेलबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले पुस ७ गते बेलबारी नगरपालिका–१ मा घोषणा सभा गर्ने जानकारी दिएको हो ।
राष्ट्रिय परिवर्तन पार्टी मोरङका अध्यक्ष दुर्गा कुमारी तामाङका अनुसार उक्त कार्यक्रम बेलबारी नगरपालिका-१ स्थित निर्माणाधीन एसियान हाइवे क्षेत्रको उत्तरतर्फ रहेको खुला स्थानमा आयोजना हुनेछ । उनले राष्ट्रिय परिवर्तन पार्टीलाई ‘जेनजी र युवाको एक मात्र पार्टी’ का रूपमा स्थापित गर्ने लक्ष्यसहित सहिद तथा घाइते परिवारको बलिदान र पीडाबाट जन्मिएको राजनीतिक शक्तिका रूपमा अघि बढाइएको दाबी गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तामाङले परिवर्तनका लागि भएको जेनजी आन्दोलनको भावना र उद्देश्यलाई संस्थागत गर्ने दिशामा यो घोषणा सभा महत्त्वपूर्ण हुने बताइन् । उनका अनुसार युवाहरूको नेतृत्व, सहभागिता र आवाजलाई केन्द्रमा राख्दै पार्टीले नयाँ राजनीतिक संस्कार स्थापित गर्न चाहेको छ ।
राष्ट्रिय परिवर्तन पार्टी मोरङका उपाध्यक्ष राकेश राईले घोषणा सभामा पार्टीका केन्द्रीय अध्यक्ष जेनजी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका राजेश प्रोटेलको प्रमुख उपस्थिति रहने जानकारी दिए । साथै कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भोजपुर समन्वय समितिका अध्यक्ष कमल थुलुङ (राई), पूर्व महासेनानी माधव सुन्दर खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा समाजसेवीहरूको गरिमामय उपस्थिति रहने पार्टीले जनाएको छ ।
राष्ट्रिय परिवर्तन पार्टी मोरङकी सदस्य एलिसा राईका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय परिवर्तन पार्टीको मोरङ जिल्ला समिति औपचारिक रूपमा घोषणा गरिनुका साथै जिल्लाका उम्मेदवारहरूको परिचयसमेत सार्वजनिक गरिनेछ । साथै ‘देश कसरी बनाउने ?’ भन्ने विषयमा पार्टीको स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गरिने उनले बताइन् । कार्यक्रममा जेनजी युवाहरूका भाषण, सहिद तथा घाइते परिवारप्रति सम्मान समर्पणका कार्यक्रमहरू समेत समावेश गरिने जनाइएको छ ।
पार्टीले जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएको र हजारौँ घाइते भएको उल्लेख गर्दै देश कठिन परिस्थितिमा पुगेको अवस्थामा अब मौन बस्न नहुने उद्घोष गरेको छ । “हामी एक हौँ, र देशलाई फेरि माथि उठाऔँ,” भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको पार्टीको भनाइ छ । उक्त घोषणा सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । पार्टीले सर्वसाधारण, युवाहरू, सामाजिक अभियन्ता तथा परिवर्तन चाहने सबैलाई कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।


