कोशी प्रदेश सभापतिको दौडमा डिग बहादुर लिम्बु : प्रतिनिधि चयन भए बलियो प्रतिस्पर्धी


मोरङ । नेपाली काँग्रेस मोरङका सभापति तथा पूर्व मन्त्री डिग बहादुर लिम्बु कोशी प्रदेश सभापतिको आकाङ्क्षासहित आन्तरिक राजनीतिमा सक्रिय देखिएका छन् । शेखर कोइराला पक्षधर नेताका रूपमा आफुलाई उभाउँदै लिम्बुले आगामी प्रदेश अधिवेशनमा कोशी प्रदेश सभापतिका लागि प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका हुन् । उनले सार्वजनिक रूपमा नै समर्थन जनाउँदै शेखर कोइरालालाई आगामी नेपाली काँग्रेसको सभापति बनाउनु पर्ने मत व्यक्त गर्दै छन् ।

यद्यपि, पार्टीको वडा तहबाट लिम्बुको नाम एकल रूपमा सर्वसम्मत सिफारिस भने हुन सकेन । प्रतिनिधि छनोट प्रक्रियामा उनको नाम सिफारिस भएको भए पनि अन्तिम टुङ्गो लाग्न बाँकी नै छ । जेनजी आन्दोलनको प्रभावसँगै काँग्रेसभित्रको आन्तरिक समीकरण, गुटगत समीकरण र प्रतिनिधि छनोटको परिणामले नै उनको राजनीतिक यात्राको आगामी दिशा तय गर्ने देखिन्छ ।

प्रतिनिधिमा निश्चित भए कोशी प्रदेश सभापतिका लागि औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रने स्वयम उनले बताएका छन् । तर प्रतिनिधि छनोटमै असफल भए प्रदेश सभापतिको आकाङ्क्षा हालका लागि अधुरो सपना मात्रै बन्ने लिम्बुले बताए । यद्यपि, पार्टीभित्र लिम्बु प्रतिनिधि नहुने सम्भावना न्यून रहेको आङ्कलन गरिएको छ ।

लामो समयदेखि सङ्गठन निर्माणमा सक्रिय, अनुभवी नेता तथा पूर्व मन्त्रीका रूपमा पहिचान बनाएका लिम्बु कोशी प्रदेशको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्छन् । यही कारण, उनी प्रतिनिधिमा चयन भए कोशी प्रदेश सभापतिको दौडमा एक बलियो प्रतिस्पर्धीका रूपमा उभिने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्