मोरङ । स्थानीय उद्योग, कृषि, पर्यटन र उद्यमशीलतालाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित ‘दोस्रो बेलबारी महोत्सव-२०८२’ आगामी पौष २५ गतेदेखि माघ ५ गतेसम्म बेलबारी-३, पुरानो मालपोत लाइनमा हुने भएको छ । बेलबारी उद्योग वाणिज्य संघले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी, उद्देश्य र संरचना सार्वजनिक गरेको हो ।
महोत्सवको प्रचार-प्रसारको मुख्य सामग्रीका रूपमा निर्माण गरिएको महोत्सव ज्याकेट पनि सार्वजनिक गरिएको छ । संघका निवर्तमान अध्यक्ष तथा बेलबारी-३ का वडाध्यक्ष योगेन्द्र सुवेदी र संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले संयुक्त रूपमा ज्याकेट सार्वजनिक गरे । सुवेदीले रु.३ हजारमा ज्याकेट खरिद गर्दै महोत्सव सफल बनाउन सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।

सुवेदीले ज्याकेट केवल प्रचार सामग्री नभई चिसो मौसममा प्रयोगकी पनि हुने भएकाले दिगो सहयोगका रूपमा उपयोग हुने बताए । रातमा मात्र नभएर दिनमा पनि प्रभावकारी कार्यक्रमहरू हुने भएकोले भीड व्यवस्थापन तथा सुरक्षामा शान्तिपूर्ण वातावरण हुने उनले अपेक्षा प्रकट गरे । शुभकामना प्रदान गर्दै महोत्सव मेला होइन, बेलबारीको सांस्कृतिक, आर्थिक र सामाजिक पहिचानको महोत्सव बनाउन सुवेदीले आग्रह गरेका छन् ।
रु.३ हजारमा ज्याकेट खरिद गरे, महोत्सवमा प्रवेश निःशुल्क र बेलबारी उद्योग वाणिज्य संघका साधारण सदस्यले सोही रकमबाट सदस्यता नवीकरणसम्मको सुविधा रहेको कार्यवाहक अध्यक्ष सन्दीप राईले जनाएका छन् ।
महोत्सवको उद्देश्य
संघका अनुसार “स्वदेशी उत्पादन, स्वावलम्बी अर्थतन्त्रको आधार” नारासहित आयोजना हुने यस महोत्सवले कृषि, उद्योग र पर्यटनबिचको सम्बन्धलाई मजबुत बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य लिएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई महोत्सवले महत्त्वपूर्ण अवसरका रूपमा लिने र आन्तरिक पर्यटन विस्तारमा सहयोग पु¥याउने संघको विश्वास रहेको छ ।

२२० स्टल : ३ लाखभन्दा बढी दर्शकको अपेक्षा
महोत्सवमा कृषि, हस्तकला, घरेलु उत्पादन, प्रविधि, निर्माण सामग्री, शिक्षा, खेलकुद, स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी गरी २२० भन्दा बढी स्टल रहने संघका महासचिव विवेश मिश्रले बताए छन् । मिश्रका अनुसार कोशी प्रदेशका सबै जिल्लाबाट किसान, उद्योगी, व्यापारी र सर्वसाधारण गरी करिब ३ लाखभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।
महोत्सवमा सांस्कृतिक साँझ, उद्यमी सम्मान, सेमिनार तथा अन्तर्क्रिया, स्थानीय खाद्य प्रदर्शनी, पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू प्रमुख आकर्षण हुने मिश्रलेले जनाएका छन् ।

१ करोड ६७ लाखको बजेट : ४० लाख बचत अपेक्षा
बेलबारी नगरपालिका, कोशी प्रदेश सरकार, विभिन्न श्रेणीका प्रायोजक तथा स्टल बुकिङमार्फत करिब १ करोड ६७ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको संघले जनाएको छ । खर्च व्यवस्थापनपछि करिब ४० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ, जसबाट संघले आफ्नो कार्यालय भवनको माथिल्लो तलामा सभाहल निर्माण गर्ने योजना रहेको कार्यवाहक अध्यक्ष राई बताए ।
पत्रकार सम्मेलन संघका कार्यवाहक अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न भएको हो ।




