बेलबारीमा मधु गुरुङको ‘जीवनको गीत’ उपन्यास सार्वजनिक


बेलबारी । जनगायिका तथा संविधानसभा सदस्य मधु गुरुङको उपन्यास ‘जीवनको गीत’ शनिवार बेलबारीमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ । बेलबारी साहित्य विकास समितिद्वारा आयोजित “उपन्यास सार्वजनीकरण तथा सिर्जना वाचन कार्यक्रम” साहित्यिक वातावरण, भावनात्मक प्रस्तुति र अतिथिहरूको उपस्थिति बिच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष प्राध्यापक डा. देवी क्षेत्री दुलाल, प्रमुख वक्ता तथा समीक्षक प्रा. डा. बद्रीविशाल पोखरेल, विशिष्ट अतिथिमा पूर्व सांसद हर्कमान तामाङ, पूर्व सांसद खेम नेपाली, बेलबारी नगर प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइरालालगायत सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो ।

समीक्षात्मक टिप्पणी प्रा. डा. बद्रीविशाल पोखरेलले प्रस्तुत गरे भने बेलबारी साहित्य विकास समितिका सल्लाहकार तथा पुस्तकका भाषा–सम्पादक साहित्यकार ईरानराईले कृतिकारको विस्तृत परिचय प्रस्तुत गरे । विभिन्न अतिथिले ‘जीवनको गीत’लाई नारी मुक्ति, समाजका अदृश्य पीडा र वर्गीय विभेदको साहित्यिक आवाजका रूपमा व्याख्या गर्दै शुभकामना व्यक्त गरे ।

उपन्यासका बारेमा बोल्दै कृतिकार मधु गुरुङले आफ्नो यो पुस्तक जीवनका आरोह–अवरोह, संघर्ष र आशाका अनुभूति–अनुभवबाट जन्मिएको बताइन्। “गाउँको धड्कन र त्यहाँको पीडाले मलाई लेख्न बाध्य बनायो। गीत–संगीतको यात्राबाट जगेडा भएको अनुभूति आज उपन्यासको रूपमा जन्मिएको छ,” गुरुङले भनिन् ।

पहिले ‘सानी’ नाम राखिएको यो कृतिलाई सुझावअनुसार परिवर्तन गरी ‘जीवनको गीत’ नाम दिइएको उनले बताइन् ।
कार्यक्रममा पुस्तकका विभिन्न पक्षहरू सम्पादन, आवरण, कलाकृति, प्रकाशन तथा निर्माणमा योगदान पु¥याउनेसबैप्रति गुरुङले आभार व्यक्त गरिन् । १००१ प्रतिमा प्रकाशित उपन्यास बेलबारी साहित्य विकास समितिद्वारा सार्वजनिक गरिएको हो ।

समितिका अध्यक्ष रमेश निरौलाले पुस्तकलाई “नारीको संघर्ष, पीडा र चाहनाको जीवन्त महागीत” भन्दै उपन्यासकार गुरुङलाई बधाई तथा कृतज्ञता व्यक्त गरे । उनका अनुसार समाजका उपेक्षित आवाजलाई साहित्यमार्फत शक्तिशाली रूपमा अभिव्यक्त गर्ने गुरुङ जस्तै स्रष्टाहरूको कृतिले बेलबारीको साहित्यिक जगलाई थप मजबुत बनाउने विश्वास समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्