कानेपोखरी–५ भौसाबारीमा प्रशासकीय भवनको शिलान्यास : वर्षौँको प्रयासले पायो मूर्त रूप


मोरङ, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको यात्रा आधिकारिक रूपमा सोमबारदेखि अघि बढेको छ । कानेपोखरी गाउँपालिका–५, भौसाबारीस्थित निर्माण स्थलमा आयोजित विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले संयुक्त रूपमा भवनको शिलान्यास गर्दै कामको शुभारम्भ गरेका हुन् ।

१० करोड ९७ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको उक्त भवन श्री अर्थ जे.बी. प्रालिले निर्माण गर्ने भएको छ । तीन-तले प्रशासकीय भवनमा जमिन तलामा १२ कोठा, पहिलो र दोस्रो तलामा १४-१४ कोठा रहने गरी आधुनिक संरचना निर्माण हुने छ । कार्यपालिका, न्यायिक समिति र सभा हल सहित, आवश्यक सबै प्रशासनिक कोठाहरू रहने गाउँपालिकाले जनाइएको छ । वरिपरि कम्पाउन्ड र दुई वटा मुख्य गेट रहने व्यवस्था पनि डिजाइनमा समावेश गरिएको छ ।

गाउँपालिका अनुसार निर्माण कम्पनीले २०८२ कात्तिक २७ गते सम्झौता गरेको थियो । २०८४ कात्तिक २७ भित्र काम सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। शिलान्यास समारोहमा अध्यक्ष राजमती इङ्गनामले निर्माण कम्पनीसँग समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न आग्रह गरिन् । साथै उनले स्थानीय नागरिकलाई पनि निर्माण कार्यमा निगरानी र सहयोग गर्न आग्रह गरेकी छिन् ।

उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भवन निर्माण प्रक्रिया यस चरणमा पुगेकोमा खुसी व्यक्त गर्दै २०७४ मा घोषणा भएको यो योजना विभिन्न विवाद, कानुनी चुनौती र लामो प्रतीक्षाबाट गुज्रिएर अब वास्तविक निर्माणको चरणमा आएको जनाए । उनले अध्यक्ष इङ्गनामको नेतृत्व, अडान र निरन्तर प्रयासकै कारण काम अघि बढेको उल्लेख गर्दै सार्वजनिक रूपमा धन्यवाद पनि प्रकट गरे । उनले निर्माणको निगरानीका लागि प्राविधिक टोलीलाई सुरुबाटै कडाइका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले भवन निर्माणको सम्पूर्ण प्रक्रिया, ठेक्का आव्हानदेखि शिलान्याससम्मका तथ्यहरूको जानकारी दिइन् । उनका अनुसार १६ करोड ७८ लाखको अनुमानित लागतमा आव्हान गरिएको ठेक्कामा ३०.२८% कमी दर प्रस्तुत गर्दै श्री अर्थ जे.बी. प्रालिले जिम्मेवारी पाएको हो ।

कार्यक्रममा वडा अध्यक्षहरू चरण गुरुङ, गोपाल बहादुर कार्की, मोहन प्रसाद अधिकारी, रमेश राउत र रत्नबहादुर कार्की, कार्यपालिका सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । एमालेबाट गाउँ कमिटीका उपाध्यक्ष कृष्ण थामी, काँग्रेसका गाउँ सभापति योगेन्द्र दाहाल, समाजसेवी चन्द्र खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन प्रशासन शाखा प्रमुख मचिन्द्र थलङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्