काठमाडौं । नेकपा (एमाले)को ५८औँ सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छिन् । लामो समयदेखि ओलीको नजिककी मानिँदै आएकी शाक्यले हालैको आन्दोलन र राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएकी हुन् ।
बैठकमा उपाध्यक्ष शाक्यसँगै युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए । ती दुवै नेता यसअघि नै ओलीको विपक्षी धारमा रहेका थिए । शाक्यले विशेषतः युवाहरूको विद्रोह र आन्दोलनका भावनालाई सम्बोधन गर्न नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताइन् । उनले पोलिटब्यूरो सदस्य महेश बस्नेतको सार्वजनिक अभिव्यक्तिले पार्टीको छवि बिगारिरहेको भन्दै ओलीलाई नियन्त्रण गर्न सुझाव दिइन् ।
‘किन यसरी बोल्न दिइदैछ ? यस्तो कुराले पार्टीलाई फाइदा पुगिरहेको छैन,’ शाक्यले प्रश्न गरिन् । त्यसप्रति ओलीले भने, ‘अप्ठ्यारो पर्दा अरू नबोल्ने रहेछन्, महेश मात्रै बोल्छ, काम गर्छ ।’ शाक्यले २३ र २४ भदौका घटनालाई केवल षड्यन्त्रको रूपमा चित्रण गर्नु पर्याप्त नहुने बताउँदै भनिन्, ‘भोलिपल्ट सरकार जाँदै छ भन्ने पत्तो नै भएन । अब षड्यन्त्र भनेर मात्र हुँदैन, नैतिक जिम्मेवारी लिएर सहज निकास दिनुपर्छ ।’
बैठकमा उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले पनि पार्टीलाई पुनर्गठन र नयाँ ऊर्जा दिन आवश्यक रहेको धारणा राखेका थिए । सचिवालय बैठकमा नेतृत्व परिवर्तनको आवाज गुन्जिएसँगै एमालेभित्र नयाँ राजनीतिक समीकरण बन्ने सङ्केत देखिएको छ।