विराटनगर । हालैको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विस्थापित भएका परिवारहरूका लागि कोशी प्रदेश सरकारले तीव्र गतिमा राहत पठाउने अभियान थालेको छ । हेलिकप्टर र अन्य सवारी साधनमार्फत हिजो राहत सामग्री पठाएपछि आज पनि तीन ट्रकभन्दा बढी सामग्री माईजोगमाई, माई, इलाम नगरपालिका र झापाका विभिन्न गाउँपालिकामा पठाइएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सरकारसँग रहेका सबै राहत सामग्रीहरू तत्काल पीडितसम्म पुर्याउने लक्ष्यका साथ पठाइँदै छन् । “हामीसँग उपलब्ध सम्पूर्ण सामग्री तुरुन्तै प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ,” मन्त्री भण्डारीले बताए ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पनि राहत वितरणलाई अझ तीव्र बनाउन सरकारी संयन्त्रका बैठकहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिए । उनले मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने र अत्यावश्यक सामग्री निरन्तर पठाउने कार्यलाई स्रोत र साधनले भ्याएसम्म जारी राखिने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका मन्त्रीहरूलाई पनि आफ्ना-आफ्ना क्षेत्रमा पुगेर पुनर्निर्माण र पुनःस्थापनाका काममा प्रत्यक्ष संलग्न हुन निर्देशन दिएका छन् । राहतसंगै भत्किएका सडक, विद्यालय र अन्य सार्वजनिक संरचना पुनःनिर्माणका लागि तयारी सुरु भइसकेको उनको भनाइ छ । बाढी-पहिरोबाट इलाम, झापा र आसपासका जिल्लामा व्यापक क्षति पुगेको छ ।
