काठमाडौँ । देशभर जारी अविरल वर्षाले जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले २० जिल्लालाई बाढीको अति उच्च जोखिममा राखेको छ । काठमाडौँ उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा लगातार वर्षा जारी छ, जसले ठुलो जोखिम निम्त्याउने देखिएको छ ।
विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लामा बाढीको अति उच्च जोखिम छ ।
त्यस्तै, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी (पूर्व–पश्चिम), रुपन्देही र कपिलवस्तु उच्च जोखिममा परेका छन् । कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूलाई मध्यम जोखिम क्षेत्रमा राखिएको छ ।
महाशाखाले विशेष गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, आवश्यक परेमा सुरक्षित स्थानमा सारिन समेत आग्रह गरिएको छ । यसैबिच, सरकारले सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निरन्तर सक्रिय रहन निर्देशन दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलाई समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।