ओलीको खुलासा : ‘५ मिनेट ढिलो भएको भए, आन्दोलनकारीले मार्ने नै थिए’


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौको आन्दोलनको दिन आफूलाई सेनाले रेस्क्यु नगरेको भए ज्यानै गुम्ने अवस्था सिर्जना भएको बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगको भेटमा ओलीले घटनाक्रम सम्झिँदै भने, “५ मिनेट मात्रै ढिलो भएको भए मलाई चाहिँ मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनायो, मलाई चाहिँ मार्ने नै थिए ।”

२४ भदौको दिउँसो २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओलीलाई उनकी पत्नी राधिका शाक्य र प्रमुख सल्लाहकार विष्णु रिमालसहित सेनाको हेलिकोप्टरमार्फत बालुवाटारबाट शिवपुरीस्थित ब्यारेकमा पुर्‍याइएको थियो । उनले खुलासा गरेअनुसार सेनाले राजीनामा नदिएसम्म रेस्क्यु गर्न अस्वीकार गरेको थियो । त्यसैले आफू अन्ततः दबाबमा आएर पद त्याग्न बाध्य भएको उनले बताए ।

ओलीले तत्कालीन परिस्थितिको चित्रण गर्दै भने, “मलाई सेक्युरिटीमा भरोसा थियो, तर उनीहरूले केही गर्न सक्दैनौँ भनेपछि अन्तिममा सेनाले भगाई दियो ।” त्यही दिन दिउँसो २:३० बजे उनीहरूलाई शिवपुरीस्थित स्टाफ कलेजमा सुरक्षित लगिएको थियो । तर, उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने बालुवाटारमै छोडिएका थिए । उनीहरू पछि प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

२३ भदौमा १९ युवाको मृत्यु भएपछि २४ भदौको बिहानैदेखि आन्दोलन चर्किएको थियो । बिहान १० बजेदेखि नै सुरक्षा निकायका शीर्ष अधिकारीहरू—प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अनुसन्धान विभाग प्रमुख हुतराज थापा बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । उनीहरूले राजनीतिक निकासका लागि राजीनामा दिन सुझाव दिए पनि ओली त्यस बेला आक्रोशित भएको विवरण पनि उनले सुनाए ।

ओलीले आफू कुर्सी ओगट्न नभई राष्ट्रको चुनौती समाधान गर्न बसिरहेको तर सुरक्षाकर्मीहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको गुनासो गरे । तर, अन्ततः परिस्थिति नियन्त्रणभन्दा बाहिर जाँदा र सेनाले ‘राजीनामा बिना रेस्क्यु सम्भव छैन’ भनेपछि उनी दबाबमा आएर सत्ता त्याग्नुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्