‘जुरेली दर्शन’ को चर्चा परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न


बेलबारी, मोरङ/  शनिवार बेलबारीमा वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनमा आधारित चराहरूसँगको सम्बन्धबारे अन्वेषक तथा कवि अनिल पौडेलको नयाँ कृति जुरेली दर्शनको चर्चा परिचर्चा भएको छ ।

कवि अनिल पौडेलले लिखित शताब्दीपुरुष संस्कृतिविद् जोशीको जीवनीमा आधरीत पुस्तक “जुरेली दर्शन”नामक पुस्तकको परिचर्चा तथा रचना वाचन कार्यक्रमले बेलबारीलाई साहित्य मय बनायो । १०० वर्षीय सत्यमोहन जोशीको चिनारीका आयाम, सांस्कृतिक संस्थाको जन्म कथा, अरनिकोको खोजी,संस्कृति विद् बनाउने सिज्जा, साधनका शिखर, जुरेली दर्शन र परिशिष्ट शीर्षक दिएर २ सय ४८ पृष्ठ लामो पुस्तक तयार भएको छ ।

जुरेलीमा जोशीले पाएको मदन पुरस्कार देखी महेन्द्र गुफा पत्ता लगाएको सन्दर्भ सामाग्रीहरू समेटिएका छन् । जोशीले पाएको सम्मान तथा उनका ग्रन्थहरूको समेत चर्चा गरिएको छ । उनको पठन पाठन देखी पाएका पुरस्कारहरू समेत पुस्तकमा सचित्र उतारिएको छ ।

पुस्तकको परिचर्चामा प्रमुख अतिथिको रूपमा कार्यक्रम स्थलमा पुगेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले जोशीबाट देशले धेरै कुरा सिक्नु पर्ने बताए । भाषा साहित्यका क्षेत्रमा पुराएको योगदान देशले कहिल्यै बिर्सन नहुने समेत उनले बताए । कार्यक्रममा साहित्यकार मिश्र बैजन्ती र इरान राईले पुस्तक माथि समिक्षा गरेका थिए भने स्रष्टाहरूको रचना वाचन समेत रहेको थियो । साहित्यकार रमेश निरौलाले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रम बेलबारी साहित्य विकास समिति बेलबारी, मोरङका अध्यक्ष रेखा सुवेदीको अध्यक्षता  सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्