बेलबारी, मोरङ। देशभरि भदौ २३ गतेदेखि सुरु भएको जेनजी (Gen-Z) आन्दोलनपछि बेलबारीमा समेत ठुलो जनसहभागिता देखिएको थियो। आन्दोलनबारे बेलबारीस्थित जेनजी समूहले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रमा बोल्न पाउने र विरोध गर्ने अधिकारलाई सरकारले बेवास्ता गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन गर्यो, गोली चलायो र दर्जनौँको ज्यान लियो, सयौँ घाइते भए।” समूहले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
जेनजी समूहले भदौ २३ र २४ गते बेलबारीमा पनि आन्दोलनको निरन्तरता दिएको तर सो क्रममा विभिन्न स्वार्थ समूह प्रवेश गरी आन्दोलनलाई विमुख बनाउन खोजेपछि आन्दोलन स्थगित गरिएको जनाएको छ। समूहका अनुसार आन्दोलन स्थगनबारे प्रहरी प्रशासनलाई जानकारी पनि गराइएको थियो।
तर त्यसपश्चात् अराजक समूहले आन्दोलनको नाममा बेलबारीमा तोडफोड र आगजनीजस्ता अक्षम्य गतिविधि सञ्चालन गरेको भन्दै समूहले ती घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने आपराधिक क्रियाकलापप्रति हामी दुःख प्रकट गर्दछौँ र ती अपराधीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।”
त्यसै गरी, आन्दोलनको उग्र रूपसँगै बेलबारी नगरपालिकाका केही जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणाबारे पनि समूहले असहमति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधिहरूले दबाबमा परेर दिएको राजीनामा हाम्रो आन्दोलनको मर्मसँग मेल खाँदैन। उनीहरूले अविलम्ब आफ्नो जिम्मेवारीमा फर्केर सेवामा समर्पित हुनुपर्छ।” साथै, राजीनामा घोषणा गर्ने जनप्रतिनिधिहरू सचेत रहन र यदि साँच्चै पदत्याग गर्ने चाहना भए भने आधिकारिक रूपमा राजीनामा दिन अनुरोध गरिएको छ।
जेनजी समूह, बेलबारी नगरपालिकाले जारी गरेको विज्ञप्तिले आन्दोलनको उद्देश्यलाई स्पष्ट पार्दै अराजक गतिविधि र भ्रष्ट्राचारी प्रवृत्तिबाट अलग रहने आफ्नो प्रतिबद्धता दोहोराएको छ।
