प्रचण्ड १० दिने चीन भ्रमणमा जान


काठमाडौँ, १४ मङ्सिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जाने भएका छन् । अध्यक्ष प्रचण्ड १० दिने भ्रमणका लागि, चीनका राष्ट्रपति सी चिनफिङको निम्तोमा ६० सदस्यीय टोली सहित चीन भ्रमणमा जान लागेका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबिच काठमाडौँमा भएको छलफलका क्रममा अध्यक्ष प्रचण्डलाई निम्तो भएको थियो । अध्यक्ष प्रचण्ड नेतृत्वको जम्बो टोली मङ्सिर २४ गते चीन प्रस्थान गर्ने जनाइएको छ ।

दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौँमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यस क्रममा दुई कम्युनिस्ट पार्टीबिच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो ।

भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ नेताहरूले जानकारी दिएका छन् । अध्यक्ष दाहाल भने तीन दिन बसेर फर्कने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।

विभागका सहइन्चार्ज वेदुराम भुसालका अनुसार अध्यक्ष दाहाल नेतृत्वको टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझीसहित १० जना हुनेछन् । भ्रमण दलमा केन्द्रीय सदस्य र पार्टीका केही जिल्ला अध्यक्ष रहने भुसालले बताए । चीन जाने टोलीमा रघुजी पन्त, प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्