काठमाडौं । भारतको जम्मु कश्मीरस्थित किश्तवाड जिल्लाको चिशोती गाउँमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेको संख्या कम्तीमा १२० पुगेको छ भने अझै कैयौँ व्यक्ति बेपत्ता छन्, जसका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय अधिकारीका अनुसार, क्लाउड ब्रस्टका कारण चिशोतीमा आकस्मिक बाढी आएको हो, जसले ठुलो जनधनको क्षति पुर्याएको छ । बाढीले धेरै घरहरू भत्किएका छन् र पशुधनमा समेत ठुलो क्षति भएको छ । किश्तवाडका प्रमुख जिल्ला अधिकारी पंकज कुमार शर्माले घटनाको पुष्टि गर्दै उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको जनाएका छन् ।
भारतका केन्द्रीय राज्य मन्त्री डा. जितेन्द्र सिंहले जिल्ला प्रशासनसँग सम्पर्क गरी उद्धार कार्यको प्रगति बुझेका छन् । उनले ठुलो जनधनको क्षति हुने सम्भावना रहेको बताउँदै तत्काल उद्धार, स्वास्थ्य सेवा र राहत व्यवस्थापनमा प्रशासन सक्रिय रहेको जानकारी दिए ।
जम्मु–कश्मीरका उपराज्यपाल कार्यालयले ट्वीट गर्दै घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । शोकसंतप्त परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
अहिलेसम्म करिब ९८ जनाको उद्धार गरिएको भए पनि धेरै व्यक्ति अझै हराइरहेका छन् । घटनास्थल किश्तवाडको मुख्यालयबाट करिब ८०–९० किलोमिटर टाढा पर्ने भएकाले उद्धारमा कठिनाइ भएको छ । मचैल माता यात्रा हालका लागि स्थगित गरिएको छ भने एम्बुलेन्स तथा उद्धारसामग्रीसहितका टोलीहरू लगातार घटनास्थलतर्फ पठाइएका छन् ।
यसअघि केही दिनअघि मात्रै उत्तराखण्डको धरालीमा आएको बाढी पहिरोमा परी ६ नेपालीको ज्यान गएको थियो ।