बेलबारी । बेलबारी नगरपालिकाका निजी विद्यालय सञ्चालकहरूले निर्माणाधीन “विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक २०८०” का प्रावधानप्रति गम्भीर आपत्ति जनाएका छन्। बेलबारी नगर प्यावसनले आज बेलबारी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। नगर प्रमुख दिलप्रसाद राई, उपप्रमुख, शिक्षा शाखा प्रमुखलगायत जनप्रतिनिधिलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै विधेयकका केही धाराहरू तत्काल सच्याउन माग गरेका छन्।
नेपालको शिक्षा विकासमा २०३६ सालपछि पुनः निजी लगानीमा विद्यालय स्थापना हुने क्रम सुरु भएदेखि हालसम्म यस क्षेत्रले करिब ६ खर्ब रुपैयाँ लगानी गरेको र करिब ४ लाख रोजगारी सिर्जना गरेको तथ्याङ्क ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा उल्लेख अनुसार, निजी विद्यालयहरूले कुल विद्यार्थीको ३४ प्रतिशतलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र राष्ट्रिय वार्षिक बजेटको करिब ३५ प्रतिशत बराबरको योगदान पुर्याइरहेको दाबी गरिएको छ।
सञ्चालकहरूले प्रस्तावित विधेयकमा राखिएको “निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने” प्रावधान, “पूर्ण छात्रवृत्ति” को अनिवार्य व्यवस्था, र विद्यार्थीलाई भर्ना शुल्कदेखि यातायात र पोसाकसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने दायित्व असंवैधानिक, लगानी प्रतिकूल र अव्यवहारिक रहेको बताएका छन्। उनीहरूको भनाइमा, राज्यको कुनै आर्थिक तथा भौतिक सहयोगबिनै सञ्चालन भइरहेको निजी विद्यालयहरूले पूर्ण निःशुल्क शिक्षा दिन सक्ने अवस्था छैन, र यस्तो प्रावधानले विशेष गरी ग्रामीण भेगका विद्यालयलाई धराशायी बनाउनेछ।
ज्ञापनपत्रमा यसअघि अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशतलाई भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्कमा छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, र गैरनाफामूलक बनाउने वाक्यांश खारेज गर्नुपर्ने माग राखिएको छ। साथै, उच्च शिक्षामा निजी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति पाउन रोक लगाउने प्रवृत्तिलाई पूर्वाग्रही र विभेदपूर्ण भन्दै तत्काल सुधार गर्न आग्रह गरिएको छ।
सञ्चालकहरूले चेतावनी दिँदै भनेका छन्, यदि विधेयकमा उल्लेख प्रावधानहरू यथावत् पारित भएमा यसले देशको शैक्षिक मात्र नभई आर्थिक चक्रलाई पनि गम्भीर असर पार्नेछ। उनीहरूले राज्यले उचित मुआब्जा दिएर निजी विद्यालय राष्ट्रियकरण गर्ने वा सबै विद्यार्थीलाई भौचरमार्फत विद्यालय छान्ने स्वतन्त्रता दिने विकल्प मात्र व्यावहारिक हुने धारणा पनि व्यक्त गरेका छन्।
ज्ञापनपत्रमा बेलबारी नगर प्यावसनका अध्यक्ष भगवती प्रसाद घिमिरेको हस्ताक्षर रहेको छ। ज्ञापनपत्र बुझाउन बेलबारी नगर प्यावसनका अध्यक्ष घिमिरे, मोरङ प्यावसनका अध्यक्ष जगत बहादुर बस्नेत, विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षकहरू उपस्थित थिए।