काठमाडौं । भारतको राजस्थान प्रान्तस्थित दौसामा बुधवार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १० जनाको ज्यान गएको छ। खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजन सवार कार पार्किङ क्षेत्रमा रोकिराखिएको पिकअप ट्रकसँग ठोकिँदा दुर्घटना भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये ७ बालबालिका र ३ महिला रहेका छन्। उनीहरू मन्दिरको दर्शन सकेर फर्कने क्रममा कार पिकअप ट्रकमा ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
दुर्घटनापछि गम्भीर घाइतेमध्ये करिब ७ देखि ८ जनालाई उपचारका लागि जयपुरस्थित एसएमएस अस्पतालमा रेफर गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। दौसाका प्रहरी अधीक्षक सागर राणाले दुर्घटनाबारे जानकारी दिँदै भने, “खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरूको कार पिकअप ट्रकसँग ठोकिएको पुष्टि भएको छ। अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ।”
स्थानीय प्रशासनले घटनास्थलमा उद्धार तथा राहत कार्य जारी राखेको छ भने दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।