रामेछापमा स्कार्पियो दुर्घटना : स्वास्थ्यकर्मीको मृत्यु, श्रीमान् घाइते


काभ्रेपलाञ्चोक । रामेछापबाट हेटौँडातर्फ गइरहेको स्कार्पियो जिप दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। मृत्यु हुनेमा मन्थली नगरपालिका–११ की ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टका अनुसार स्वास्थ्यकर्मी रहेकी राधाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेका उनका ४६ वर्षीय श्रीमान् उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। चौहान दम्पती आफ्ना छोरालाई भेट्न हेटौँडा जाँदै गरेका थिए।

आइतबार बिहान बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी मन्थली–६ कुनौरीमा सडकमा आएको पहिरोका कारण सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ। यसअघि शनिवार रामेछापकै खाँडादेवी–४ स्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए। ना ६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटनामा २५ वर्षीय दिनेश माझीको ज्यान गएको हो भने १५ वर्षीय विवेक माझी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्