निलम्बित मेयर भरत थापा दोषी ठहर : एक वर्ष कैद र तीन करोडभन्दा बढी जरिवाना


काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत कुमार थापा दुई फरक भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा सदस्यहरू मुरारी बाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाविरुद्ध सशक्त फैसला सुनाएको हो।

थापामाथि गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई एक वर्ष कैद सजायसहित बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसाको जरिवाना तोकेको छ। फैसलामा गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार जफत गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

अदालतको विवरणअनुसार समग्र जाँच अवधिको थापाको कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा देखिएको छ भने कूल खर्च १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा भएको हो। यसरी खर्च आम्दानीभन्दा धेरै देखिएको आधारमा गैरकानूनी आर्जन पुष्टि भएको ठहर अदालतले गरेको हो।

थापा नदीजन्य पदार्थको अनियमितता र हानी–नोक्सानीसम्बन्धी मुद्दामा समेत दोषी ठहर भएका छन्। थापासँगै विमलकुमार पोखरेल र सागर पौडेललाई पनि कसूरदार ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणका लागि साउन २९ गते पेसी तोकेको छ।

तर अन्य प्रतिवादीहरू लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई पर्याप्त प्रमाण नपुगेका कारण सफाइ दिइएको छ। अदालतले गैरकानूनी सम्पत्तिको रकम राज्यको हकमा जफत गर्नुपर्ने निर्णय गरेसँगै भ्रष्टाचारविरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाइएको स्पष्ट संकेत दिएको छ। थापा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस्