विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा आयोजित एक समारोहका बिच गरिब तथा जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गरेका छन्। प्रदेश सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत २० जना विद्यार्थीलाई साइकल वितरण गरिएको हो।
गौरीगञ्ज क्याम्पससहित चार विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको उक्त वितरण कार्यक्रम सामाजिक संस्था आलरेसको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममार्फत गौरीगञ्जमा मात्र होइन, मोरङको सुनवर्सी–६ स्थित गजादर माविमा समेत १० जना विद्यार्थीलाई साइकल प्रदान गरिएको छ।
साइकल वितरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्ना सीमित स्रोत र साधनबाट पनि शिक्षा क्षेत्रमा सुधार ल्याउन प्रयत्नशील रहेको बताए। उनले भने, “स्रोत सीमित भए पनि प्रदेश सरकारले विद्यालय तथा सामुदायिक क्याम्पसहरूमा पुग्ने प्रयास गरिरहेको छ। गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि हामी यथासम्भव सहयोग गरिरहेका छौँ।”
मुख्यमन्त्री कार्की आज आफ्नै निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन गौरीगञ्ज पुगेका थिए। उनले स्थानीय विद्यालय, सामुदायिक संस्था र नागरिकसँग समेत संवाद गर्दै प्रदेश सरकारले अघि सारेका सामाजिक पहलका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी भएका विद्यार्थी, शिक्षक र अभिभावकहरूले साइकल वितरणले विद्यार्थीलाई विद्यालय आउन–जान सजिलो हुने र शिक्षामा थप प्रगति गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका छन्।शिक्षा क्षेत्रमा यस्ता सामाजिक सहकार्य र सरकारी उपस्थितिले विद्यालय जाने वातावरण सिर्जना गर्दै सामाजिक रूपान्तरणतर्फ सन्देश दिएको विश्लेषण गरिएको छ।