उच्च अदालतको आदेश : दुर्गा प्रसाईँ दुई मुद्दामा धरौटीमा रिहा


काठमाडौं । चर्चित व्यवसायी तथा राजनीतिक व्यक्तित्व दुर्गा प्रसाईँलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि जिल्ला अदालत, काठमाडौँले गरेको थुनामा पठाउने आदेश उल्टाउँदै धरौटीमा छाड्न आदेश दिएको हो।

उक्त आदेश चैत १५ गते भएको राजावादी आन्दोलनसँग जोडिएको ‘तीनकुने’ घटनामा संलग्नता र बैङ्किङ कसुरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा गरिएको हो। तीनकुने घटनासम्बन्धी मुद्दामा अदालतले प्रसाईँलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने बैङ्किङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी तोकेको छ।

प्रसाईँमाथि बैङ्किङ कसुरमा १८ करोड ४४ लाख रुपैयाँ बिगो भएको अभियोग छ। सो मुद्दामा ठुलो रकमको आर्थिक अनियमितता रहेको दाबी गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जेठ २९ गते जिल्ला अदालत, काठमाडौँले दुर्गा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको थियो। उनीहरूमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर आरोपहरूमा मुद्दा दर्ता गरिएको थियो।

उच्च अदालतको यो आदेशसँगै प्रसाईँ कानुनी रूपमा केही सहज अवस्थामा देखिए पनि, बाँकी मुद्दाहरूमा के हुने भन्ने विषयमा अझै अनिश्चितता रहेको देखिन्छ। बैङ्किङ क्षेत्र, आन्दोलन र कानुनी प्रक्रिया तीनै पाटोमा विवादमा तानिएका प्रसाईँका विषयमा अहिले पनि सार्वजनिक चासो उच्च रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्