काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलको खुद्रा मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। नयाँ मूल्य समायोजन आगामी बिहीबार (साउन १६) राति १२:०१ बजेबाट लागू हुनेछ।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। अब पहिलो वर्गका स्थानहरूमा पेट्रोलको मूल्य १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। संशोधित मूल्य अनुसार पहिलो वर्गमा डिजेल र मट्टितेलको मूल्य १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४९ रुपैयाँ र तेस्रो वर्गमा १५० रुपैयाँ पुगेको छ।
हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढाइएको छ। आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको हो। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि हवाई इन्धनको मूल्य प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भई ९७३ डलर पुगेको छ। पोखरा र भैरहवाका लागि भने मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको छ, जस अनुसार पोखराको मूल्य ७९२ डलर र भैरहवाको ७७६ डलर कायम गरिएको छ।
यता, एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्य समायोजन इन्डियन आयल कर्पोरेशनबाट २०८२ साउन १५ गते प्राप्त पेट्रोलियम मूल्यमा आधारित रहेको निगमले स्पष्ट पारेको छ। निगमका अनुसार पेट्रोलको खरिद मूल्यमा प्रति लिटर ८७ पैसाले कमी आएको छ भने डिजेल र हवाई इन्धनको खरिद मूल्यमा क्रमशः ३ रुपैयाँ ५० पैसा र ३ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ।
निगमले “सहजता, शुद्धता र पारदर्शिता” को प्रतिबद्धता दोहोर्याउँदै उपभोक्तालाई समायोजित मूल्यमा इन्धन आपूर्ति गर्ने उल्लेख गरेको छ।