काठमाडौँमा सुन व्यवसायीद्वारा आफ्नै कामदारको हत्या


काठमाडौं । काठमाडौँमा एक सुन व्यवसायीले आफ्नै पसलमा काम गर्ने भारतीय कालिगढको हत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–२५ न्ह्योखास्थित एक घरमा बुधवार बिहान करिब २ः४५ बजे भएको घटनामा पश्चिम बंगाल, भारतका ५४ वर्षीय सुव्रता पालको ज्यान गएको हो।

प्रहरीका अनुसार नुवाकोट ककनी घर भई गल्कुपाखा बसोबास गर्दै आएका ४२ वर्षीय व्यवसायी श्याम कालिकोटेले पालको हत्या गरेका हुन्। घटना लगत्तै फरार रहेका कालिकोटेलाई प्रहरीले नयाँ बसपार्कस्थित एक होटेलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार दुवै जना घटनाको रात मदिरा सेवन गरेर पालको कोठामा गएका थिए। त्यहीँ सामान्य विवादले झगडाको रूप लिँदै हत्या भएको पाइएको छ। ‘म मालिक भए पनि उसले त्यो अनुसारको व्यवहार गरेन, अपमान गर्‍यो, त्यसैले विवाद हुँदा हत्या भएको हो’ भन्ने कालिकोटेको प्रहरीसमक्षको बयान उल्लेख गर्दै एसपी आचार्यले भने, “दुवैले मादक पदार्थ सेवन गरेका थिए। त्यसपछिको विवादले ज्यानै जाने गरी हिंसा भयो।”

प्रहरीका अनुसार कालिकोटेले सुन बनाउने काममा प्रयोग गरिने हम्मर प्रहार गरी पालको हत्या गरेका थिए। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्