कर (भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली


काठमाडौँ, १३ मङ्सिर । कर (भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गर्ने फेला परेको छ । वस्तु तथा सेवा खरिद नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) को झुटा तथा नक्कली बिजक बनाउने तथ्य फेला परेको हो ।

राजश्व अनुसन्धान विभागका अनुसार काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकालले कर छली गरेका छन् ।

कर छली गर्न झुटा बिजक बनाएर झन्डै रु.८७ लाख बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् । उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ । उनीहरूले कम्पनीमार्फत राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको मैनालीले बताएका छन् ।

काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईंले रु.५९ लाख र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झन्डै रु.२८ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्