लागू औषधसहित ४ जना पक्राउ


विराटनगर । प्रदेश १ का झापा, उदयपुर र सुनसरी जिल्लाबाट लागू औषधसहित ४ जना पक्राउ परेका छन् । साउन ९ गते सोमबारका दिन विभिन्न स्थानमा प्रहरीले विशेष सूचनाको आधारमा गरेको अपरेसनमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर, फेन्सीडिल र ठुलो परिमाणमा गाँजासमेत बरामद गरिएको हो ।

झापाको कचनकवल गाउँपालिका–४ स्थितमा लागू औषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत बिहार किशनगञ्जका २५ वर्षीय सोहेल, उनकी २९ वर्षीया श्रीमती तबसुम आरा र २४ वर्षीय कचालु अन्सारीलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । चेकजाँचका क्रममा तबसुम आराको साथबाट ५८.४ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।

यसै गरी, उदयपुरको त्रियुगा नगरपालिका–९ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा–१० निवासी २३ वर्षीय सुजन राउतलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रतिबन्धित लागू औषध नुर्फिन, डाइजेपाम र फेनारगन गरी ४ एम्पुल बरामद भएको छ ।

यता, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले ६० किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ । बरामद लागू औषधसहित पक्राउ परेका सबै व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूद्वारा जनाइएको छ ।

प्रहरीका अनुसार लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कारबाही लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्