“म अगाडि बढ्छु” भन्ने मूल नाराका साथ टिन्स क्लब सक्रिय


बेलबारी, १३ मङ्सिर ।  प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आ.ब देखि सुरु गरेको टिन्स क्लब सक्रिय हुन थालेको छ । “म अगाडि बढ्छु” भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयमा गठन गरिएको उक्त क्लबले पछिल्लो समयमा विभिन्न कार्यक्रमहरू गर्न थालेका छन् ।

बेलबारी २ मा रहेको कबिर माध्यमिक विद्यालयमा गठन भएको सगरमाथा टिन्स क्लबले शुक्रवार सचेतना र्‍याली तथा लालभित्ती बजार सरसफाइ समेत गरेको छ । रुख रोपौँ बन जोगाऔँ, वातावरण स्वच्छ बनाऔँ लेखिएका प्लेकार्ड सहित विद्यार्थीले लालभित्ती बजार, विभिन्न चोकको परिक्रमा गरेका थिए ।

लागुऔषध दुर्व्यसनको असर, अपराध न्यूनीकरण र विपद् व्यवस्थापन तथा वातावरणबारे विद्यार्थीलाई जागरूक बनाउने मुख्य उद्देश्यकासाथ विद्यालयहरूमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरेर, यस्ता कार्यक्रम सञ्चालन गरिएका हुन । गत साउन देखि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच शुभारम्भ गरेका थिए ।

मोरङका ३ सय ३९ वटा सामुदायिक विद्यालयमा टिन्स क्लब गठन गरिएको छ । क्लबमा कक्षा ९ देखि १२ सम्मका १३ देखि १९ वर्ष समूहका विद्यार्थी आबद्ध भएका छन् । क्लबमा आबद्ध विद्यार्थीले हप्तामा “एक दिन म अघि बढ्छु” अभियानमा आबद्ध भएर विभिन्न गतिविधि गर्ने गरेका छन् ।

गठन भएका क्लबहरुले सरसफाइ तथा वातावरण संरक्षणसँग सम्बन्धित गतिविधि गर्ने गरेका छन् । टिन्स क्लबले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएको बेलबारी २ मा रहेको कबिर माध्यमिक विद्यालयको टिन्स क्लबका शिक्षक नायक छत्रपति दाहालले बताए ।

https://youtu.be/ccqO-yDe26g

प्रतिक्रिया दिनुहोस्