मङ्गलवारे प्रशासनबाट एक वर्षमा ६ हजार बढीले लिए नागरिकता


उर्लाबारी । इलाका प्रशासन कार्यालय उर्लाबारीले एक आर्थिक वर्षमा ६ हजार बढी नेपाली नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०८१, ८२ मा छ हजार सात सय १४ जनलाई नयाँ नेपाली नागरिकता वितरण गरेको हो । वंशजको आधारमा नयाँ नागरिकता लिनेमा तीन हजार चार सय २८ महिला र तीन हजार दुई सय ८७ जना पुरुष रहेका छन् । यस्तै, ५० जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको जनाइएको छ ।

प्रशासन कार्यालयका नायब सुब्बा सुरेन्द्र दाहालका अनुसार दुई हजार पाँच सय ४१ जना महिला र दुई हजार नौ सय ६३ जना पुरुषसहित अन्य प्रक्रियाबाट आएका सिफारिसका आधारमा पाँच हजार पाँच सय चार जनालाई नेपाली नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

यसै गरी इलाका प्रशासन कार्यालयबाट चार हजार ४३ जना महिला, छ हजार पाँच सय ५४ पुरुष गरी दश हजार पाँच सय ९७ जनालाई राहदानी वितरण गरिएको छ । १९ हजार छ सय १ जनालाई राष्ट्रिय परिचय पत्र दर्तामा सूचीकरण गरिएको छ । जसमा नौ हजार दुई सय २७ महिला र १० हजार तीन सय ७४ पुरुषको अभिलेखीकरण गरिएको नायब सुब्बा दाहालले जानकारी दिएका छन्। यस्तै, प्रशासनले तीन सय ४८ वटा नाबालिक परिचयपत्र तथा एक सय ३२ वटा संस्था नवीकरण गरिएको छ ।

उर्लाबारी २ मङ्गलबारेमा अवस्थित इलाका प्रशासन कार्यालयले सेवाग्राहीको दैनिक थामिन सक्नु भीडलाई सहज र सरल प्रकारले जबाफदेहिता, पारदर्शिता अपनाएर सेवा दिँदै आएको नायब सुब्बा दाहालको भनाई छ । मोरङका आधा दर्जन पालिकाका ५४ वडाका बासिन्दाले इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्