पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गए राति पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाका अनुसार पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमती बिक बेपत्ता भएका हुन् ।
‘राति आएको पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘उनीहरूको बुहारी ३२ वर्षीया पवित्रा बिकले भने भागेर ज्यान जोगाएकी छन् ।’ घटनापछि बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको र प्रहरी टोली अहिले उद्धारका लागि घटनास्थलतर्फ गएको सापकोटाले जानकारी दिए ।
स्थानीय प्रशासन र सुरक्षा निकायले घटनास्थल पुगेर खोजी तथा उद्धार कार्य सुरु गर्ने तयारी गरेको छ । भारी वर्षापछिको पहिरोले घटना भएको अनुमान गरिएको छ ।