काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तरतर्फ रहेकाले विशेष गरी गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।
साथै ती प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम थप उच्च रहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सक्रिय रहन सबै सरकारी निकाय, सुरक्षाकर्मी, स्थानीय प्रशासन र नागरिकहरूलाई आह्वान गरेको छ ।