सुनसरी । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। साउन २ गते बिहान इटहरी उपमहानगरपालिका–२० स्थित प्रदेश नं. २–०१–००३ प २७२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सिरहा लाहान–८ का ५० वर्षीय विमल कुमार साहको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ मा प्रदेश १–०२–००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादवको पनि उपचारका क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको छ।
घटनापछि टिफर चालक भोक्राहा–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।