काठमाडौं । नेपाली काँग्रेसका नेता राजेन्द्र केसीले डा. शेखर कोइरालाको पार्टी संसदीय दलको नेता बन्ने सम्भावना नदेखिएको दाबी गरेका छन्।
शुक्रवार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्थाअनुसार डा. कोइरालाले त्यो अवसर पाउने सम्भावना अहिले नदेखिएको बताए।
काँग्रेस–एमाले गठबन्धनको सरकार ढालेर डा. कोइरालालाई प्रधानमन्त्री बनाउने प्रयास भइरहेको चर्चा चलिरहेका बेला केसीले स्पष्ट पारे, ‘पार्टीमा त जुनसुकैले संसदीय दलको नेता बन्न सक्छ, उहाँले प्रयास गर्न पाउनुहुन्छ, त्यसै गरी मैले पनि प्रयास गर्न सक्छु। तर अहिले उहाँको सम्भावना देख्दिनँ।’
उनले पार्टी विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था रहेकाले त्यसमा कोइरालाको नाम सम्भावित देखिए पनि परिस्थिति त्यस्तो नभएको टिप्पणी गरे।
काँग्रेसभित्र नेतृत्व र रणनीतिका विषयमा बढ्दै गएको अन्तरविरोधबीच नेता केसीको यो अभिव्यक्तिलाई महत्त्वका साथ हेरिएको छ।