भाइरल भिडियोबारे सुभाष लामिछानेको स्पष्टीकरण : “सुभाष लिडर हो, कायर होइन”


जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औँ महाधिवेशन तथा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशन आगामी जुलाई २०, २०२५ मा आयोजना हुने छ भने निर्वाचन प्रक्रिया जुलाई २७, २०२५ भित्र सम्पन्न गरिने कार्यक्रम रहेको छ।

यस पटकको चुनावी प्रतिस्पर्धा झन् चासोको विषय बनेको छ। अध्यक्ष पदका लागि घोषित तथा चर्चित उम्मेदवारहरूमा नवीन निउरे, सङ्गीता अधिकारी सुवेदी, रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, सुभाष लामिछाने, सचिन श्रेष्ठ, र सिद्धार्थ श्रेष्ठ प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्। तीमध्ये केहीले औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीको नाम सशक्त सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ।

यस्तै, अध्यक्ष पदका उम्मेदवार सुभाष लामिछानेले सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो विगतसम्बन्धी विवादास्पद भिडियोबारे स्पष्टीकरण दिएका छन्। उनले उक्त भिडियो करिब छ वर्षअघिको भएको बताउँदै त्यो साथीहरूमाझको सामान्य गलतफहमी पछि मेलमिलापकै क्रममा खिचिएको निजी घटना भएको प्रष्ट पारेका छन्।

‘भिडियोमा देखिएको अनुहार मेरो नै हो, तर त्यो व्यक्तिगत घटना हो र यसले समाजमा कुनै नकारात्मक प्रभाव परेको छैन,’ लामिछानेले उल्लेख गरेका छन्। उनले विगत कोट्याएर सहानुभूतिको मत माग्ने मनसाय नरहेको र आफ्नो वर्तमान तथा भविष्यप्रतिको विश्वास दृढ रहेको बताएका छन्।

चुनावी प्रयोजनका लागि भिडियोलाई भाइरल बनाइएको आरोप लगाउँदै लामिछानेले आफू कायर नभएर विश्वासिलो नेता भएको दाबी गरे। उनले भनेका छन्, ‘सुभाष लिडर हो, कायर होइन।’ साथै, उनले एनआरएनए जापानको नेतृत्वमा जुनसुकै व्यक्ति आए पनि नेपाली समाजको हितका लागि काम गर्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई सकारात्मक राजनीति गर्न आह्वान गरेका छन्।

लामिछानेले उक्त घटनामा संलग्न व्यक्तिसँगको फोटोसमेत सार्वजनिक गर्दै आपसी सम्बन्ध अझै सुमधुर रहेको सन्देश दिएका छन्। एनआरएनए जापानको यो महाधिवेशन र निर्वाचनले प्रवासी नेपाली समुदायबिच व्यापक चासो र उत्सुकता जगाएको छ। उम्मेदवारहरूबिचको प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ भने नेतृत्व चयनको जिम्मेवारी जापानवासी नेपालीहरूमै रहेको लामिछानेले स्पष्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्