कानेपोखरी गाउँपालिकाको ६७ करोड ६७ लाखको बजेट पारित : पूर्वाधारलाई प्राथमिकता


मोरङ । कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। अध्यक्ष राजमती इङ्नामको अध्यक्षतामा असार ३२ गते सम्पन्न गाउँपालिकाको १८औँ गाउँसभा (दोस्रो बैठक) ले उपाध्यक्ष भोला प्रसाद अधिकारीमार्फत प्रस्तुत गरिएको बजेट सर्वसम्मतिले पारित गरेको हो।

यस वर्षको बजेटमा पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ। बहुवर्षीय योजना अन्तर्गत गाउँपालिकाका सबै वडामा कालोपत्रे सडक निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। प्रमुख योजनामा वडा नं. १ देखि ७ सम्मका विभिन्न सडक कालोपत्रे, वडा नं. ६ मा दहीखोलामा पक्की पुल, र वडा नं. ६ र ७ को सिमानामा कल्भर्ट निर्माण समेटिएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि ५० लाख, जनता आवास कार्यक्रम अन्तर्गत २० लाख, खुला व्यायामशाला, उज्यालो कानेपोखरी कार्यक्रम, कबर्ड हल निर्माण तथा सडक हरियालीका लागि जनही ५ लाख रुपैयाँ छुट्टाइएको छ। प्रशासनिक खर्चका लागि ७ करोड ६१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सहकारी, महिला–बालबालिका, अपाङ्गता विकास, विपद् व्यवस्थापन, खेलकुद, वन वातावरण, संस्कृति प्रवर्द्धन लगायतका क्षेत्रमा पनि आआफ्नो क्षेत्रगत बजेट छुट्टाइएको छ।

७ वटै वडाका लागि ३०–३० लाख रुपैयाँको दरले वडागत सिलिङ बजेट तोकिएको छ। यसअघि असार १० गते सम्पन्न पहिलो बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। नीति तथा कार्यक्रममा आधारित रही अनुमानित ६७ करोड २९ लाख ९६ हजार रुपैयाँ बराबरको सिलिङ बजेट प्रस्तुत गरिएको थियो।

गाउँसभामा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्