कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना : मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन


विराटनगर — कोशी प्रदेश सरकारले प्रदेशका सबै १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ। प्रदेशका जिल्लाहरूमा पूर्वाधार निर्माण तथा विकास कार्य व्यवस्थित र सहज बनाउन प्रदेश सरकारले आजदेखि यी कार्यालयहरू सञ्चालनमा ल्याएको हो।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार विकास कार्यालय उद्घाटन गर्दै, प्रदेश सरकारको सेवा नागरिकको पहुँचमा पुर्‍याउन र विकास कार्यलाई गति दिन जिल्लास्तरमै यस्तो संयन्त्र स्थापना गरिएको बताए।

मुख्यमन्त्री कार्कीले उद्घाटन समारोहमा बोल्दै प्रदेश सरकारको विकास कार्य तत्काल अगाडि बढाउन र स्थानीय जनताको प्राथमिकतालाई समेट्दै योजना कार्यान्वयनमा ल्याउन कार्यालय स्थापना गरिएको उल्लेख गरे। उनले चालु आर्थिक वर्षका कामहरू असोजभित्रै अघि बढाउन कर्मचारीहरूलाई निर्देशनसमेत दिए।

उनले जिल्लास्तरीय कार्यालय स्थापनाले असारे विकासको प्रवृत्ति अन्त्य हुने विश्वास व्यक्त गर्दै, “अब बजेट वितरणमा मन्त्रीहरूकै प्राथमिकता नदेखिएका गुनासोलाई सम्बोधन गर्दै स्थानीय तहको आवश्यकताअनुसार काम अघि बढ्नेछ,” भने।

मुख्यमन्त्री कार्कीले सुनसरी जिल्ला आफ्नो गृह जिल्ला नभए पनि सो क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण लगानी गरेको उल्लेख गर्दै, प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षदेखि सञ्चालनमा ल्याइने जानकारी दिए। उनले त्यस क्षेत्रमा दुई वर्षभित्रमा अरबौं रुपैयाँ लगानी हुने संरचनाको प्रक्रिया अघि बढिसकेको बताए।

रामधुनी र कोशी टप्पुलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न काम भइरहेको बताउँदै, दुहबी–इनरुवा सडक यसै वर्ष ठेक्का प्रक्रियामार्फत निर्माण थालिने र कौवाखोच सडक निर्माणका लागि सहकार्य अघि बढाइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

यसैबीच, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गरेका छन्। साथै, साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम, र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन हुने कार्यक्रम तय गरिएको छ।

यसअघि प्रदेशभर नौ वटा मात्र सहरी विकास तथा पूर्वाधार कार्यालय रहेका थिए भने अब १४ वटै जिल्लामा एक–एक कार्यालय सञ्चालनमा आउनेछन्।

प्रतिक्रिया दिनुहोस्