रीता राई – पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति तथा द्रुत प्रतिकार्य टोली गठन तथा पैरवीसम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको सहयोग तथा नगरपालिकाको समन्वयमा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार्य क्षमताको सुदृढीकरणका लागि छलफल गरिएको थियो।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका डा. समीर पराजुली र डा. सम्यम सुवेदीले द्रुत प्रतिकार्य प्रणालीको आवश्यकता, समिति गठन प्रक्रिया, कार्यविधि र प्रभावकारी कार्यान्वयनबारे प्रष्टिकरणसहित प्रस्तुति राखेका थिए। नगर प्रमुख तुम्वापोले नगरभित्र सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै पूर्वतयारी र समन्वयात्मक कार्यमा सबै क्षेत्र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत एकराज खत्रीले नगरपालिकाको विगतका स्वास्थ्य गतिविधि र प्रगतिबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरू जीवन खतिवडा, भीम राई, नैना राई, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, चेतन खड्का, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अन्य शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोलीको औपचारिक रूपमा गठनसमेत गरिएको छ।