पाँचथरमा सेप्टिक ट्याङ्की खोल्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु : तीन बेहोस


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सहकारी संस्था भवनको सेप्टिक ट्याङ्की खोल्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन्।

फाल्गुनन्द–५ स्थित घुर्विसे पञ्चमी सहकारी संस्थाको भवन निर्माणका क्रममा सेप्टिक ट्याङ्कीमा ढलानपछि प्रयोग गरिएका काठ बाँस झिक्न खाल्डोभित्र पसेका ३८ वर्षीय रत्न चेम्जोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बुधवार साँझ करिब साढे ५ बजेतिर उनीहरू अचेत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार घटनामा २४ वर्षीय भीष्म चेम्जोङ, ४० वर्षीय बीरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङ बेहोस भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि इलाम अस्पताल लगिएको थियो। उपचारकै क्रममा रत्न चेम्जोङलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

प्राप्त जानकारी अनुसार मृतक रत्नसहित भीष्म र बीरु ट्याङ्की खोल्न खटिएका मजदुर थिए भने संगीत उनीहरूको उद्धार गर्न जाँदा बेहोस भएका थिए। अहिले संगीतको होस फर्किएको छ। श्रमिक बेहोस भएको खबरपछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईको नेतृत्वमा प्रहरी टोली तथा स्थानीयले उद्धार गरेका थिए ।

उद्धार सम्भव नभएपछि एक्स्काभेटर प्रयोग गरी बाटो बनाउँदै उद्धार गरिएको प्रहरी राईले जानकारी दिए। राईका अनुसार करिब १० मिटर गहिरो सेप्टिक ट्याङ्कीभित्र अक्सिजनको मात्रा कम भएकाले उनीहरू निसासिएका हुन्।

प्रतिक्रिया दिनुहोस्