प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको १० करोड ४७ लाख बजेट स्वीकृत


विराटनगर — प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गर्दै विभिन्न कार्यक्रम पारित गरेको हो।

बैठकले प्रदेश सरकारबाट प्राप्त २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाखसहित २ करोड ८६ लाख रुपैयाँ बराबरको कार्यक्रम तय गरेको छ। यस्तै, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरका कार्यक्रम पनि स्वीकृत भएका छन्। प्रतिष्ठानका अनुसार स्वीकृत बजेट प्रदेश सभाबाट पारित भइसकेको छ।

बैठकमा मुख्यमन्त्री कार्कीले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो संस्थाका रूपमा विकास गर्न निर्देशन दिँदै, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने गरी तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए। बदलिँदो प्रविधिसँग मेल खान सक्ने अपडेटेड कार्यक्रम ल्याई प्रतिष्ठानलाई जनमानसमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा प्रदेश प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष तथा विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्