कानेपोखरी गाउँपालिकाको छात्रवृत्ति, पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न


मोरङ । कानेपोखरी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति, पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको प्राङ्गणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरूलाई नगदसहित छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रतिबद्धता जनाएको छ । कार्यक्रम अन्तर्गत “प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी” भन्ने नारासहित पालिकाभर प्राविधिक शिक्षा अध्ययनरत १८ जना विद्यार्थीलाई जनही २७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो ।

त्यसै गरी, आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराइरहेका पालिकाभित्रका शिक्षक र कर्मचारीहरूलाई समेत नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाले सामुदायिक शिक्षाको प्रवर्द्धनमा अभिभावकको भूमिकालाई महत्त्व दिँदै ३० जनालाई नगद पुरस्कार प्रदान गरेको हो ।

विद्यालय तहको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको थियो । कक्षा ८ मा सुदर्शन निरौलाले प्रथम हुँदै १० हजार रुपैयाँ पाएका छन् भने दोस्रो स्थान हासिल गरेकी सरिना धिमालले ७ हजार रुपैयाँ प्राप्त गरिन् । कक्षा ५ मा सृष्टि राईले प्रथम हुँदै ५ हजार र ममता भट्टराईले दोस्रो स्थानसहित ३ हजार रुपैयाँ पुरस्कार पाए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । सिंहदेवी माध्यमिक विद्यालयकी आराधना कार्कीले प्रथम हुँदै २५ हजार रुपैयाँ प्राप्त गरिन् भने जनसेवा माध्यमिक विद्यालयका आर्यन आचार्यले दोस्रो स्थानसहित २० हजार रुपैयाँ हात पारे । विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने शिक्षासदन माध्यमिक विद्यालयले ३० हजार रुपैयाँ र सिंहदेवी माध्यमिक विद्यालयले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले पालिकाले गुणस्तरीय शिक्षाको आधार तयार गर्न विद्यालय मर्जको अवधारणासहित काम गरिरहेको जानकारी गराए । शिक्षामा थप लगानी गर्न पालिका पछि नपर्ने उनले प्रष्ट पारे । पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सामुदायिक विद्यालय सुधारका लागि सबै पक्षको एकजुटता आवश्यक रहेकोमा जोड दिइन् । विद्यालयमाथि अनावश्यक टिप्पणीले हतोत्साहित नहोस् भन्ने आग्रह गर्दै उनले आगामी वर्ष शिक्षामा थप बजेट विनियोजन गरिने बताइन् ।

गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई केवल वैदेशिक रोजगारीका सीमामा मात्र राख्न नहुने धारणा राखिन् । उनले नेपालभित्रै उच्च पदमा पुग्ने, अन्तर्राष्ट्रिय स्तरमा अध्ययन र रोजगारीमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पालिकाको लक्ष्य रहेको बताइन् । पूर्वाधार निर्माणदेखि शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रमसम्म पालिकाले लगानी गर्दै आएको उल्लेख गर्दै उनले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आगामी दिनमा थप योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रम गाउँपालिका अध्यक्ष इङ्गनामको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख चूडामणि रेग्मीले गरेका थिए । सामुदायिक शिक्षाको सुदृढीकरणमा सशक्त पहलकदमी स्वरूप आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकहरूमा नयाँ उत्साह र प्रेरणा जागृत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्