काठमाडौं । रसुवामा बाढीबाट प्रभावितको उद्धारका लागि खटिएको नेपाली सेनाको एक हेलिकप्टर आकस्मिक रूपमा चिनियाँ भूमिमा अवतरण भएको छ । अवतरणपछि चिनियाँ सुरक्षाअधिकारीहरूले विना अनुमति प्रवेश भन्दै केही समयको लागि हेलिकप्टरलाई रोकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
स्रोतका अनुसार, नेपाली सेनाको हेलिकप्टर उद्धारको क्रममा चिनियाँ क्षेत्रमा गएको र मेकानिकल समस्याका कारण त्यहाँ अवतरण गर्नु परेको हो । नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतले हेलिकप्टरले फसेका नेपाली नागरिकहरूको उद्धारका लागि सीमातर्फ उडान भरेको र प्राविधिक कारणले चिनियाँ भूभागमा बस्नुपरेको जानकारी दिए ।
“पारिपट्टि नेपाली नागरिकहरू छन् भन्ने आधारमा हेलिकप्टर उडेको थियो। मर्मतपछि हेलिकप्टर फर्कनेछ,” प्रवक्ता बस्नेतले भने ।
तर, जिल्ला सुरक्षा स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले सो अवतरणप्रति आपत्ति जनाएका थिए र घटनाबारे गृह, रक्षा र परराष्ट्र मन्त्रालयमा रिपोर्ट गरिएको छ। हाल उच्च तहमा राजनीतिक र कूटनीतिक स्तरमा संवाद भइरहेको छ।
बाढीको अवस्था भयावह
मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीका कारण रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् भने नुवाकोटको त्रिशूली किनारमा २ जनाको शव फेला परेको छ । यसै सन्दर्भमा, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले ५५ जनाको सफल उद्धार गरिसकेको छ ।
उद्धार कार्यमा नेपाली सेनाका दुई हेलिकप्टर खटिएका थिए । उच्चस्तरीय निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल समेत रसुवागढी पुगेका थिए ।