काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु उचित नहुने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भैरहवा र पोखराको विमानस्थल निर्माणमा देखिएका अनियमितताप्रति गम्भीर चिन्ता व्यक्त गरे।
सांसद सिंहले मधेस प्रदेशको ठुलो जनसंख्याका बाबजुद त्यहाँ विमानस्थलको अभाव रहेको उल्लेख गर्दै भने, “मधेसमा यत्रो जनसङ्ख्या छ, तर विमानस्थल छैन। भैरहवामा दुई वटा छन्, तर प्रयोग हुन सकेका छैनन्।” उनले भैरहवा र पोखराको विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको दाबी गर्दै तत्काल छानबिन हुनुपर्ने माग पनि गरे।
सिंहले जनसङ्ख्या घनत्वका आधारमा पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिँदै भने, “जहाँ धेरै जनता छन्, त्यहीँ संरचना बनाउँदा बढी प्रयोग हुन्छ। विदेशी ऋण लिएर भ्रष्टाचार गर्ने परिपाटी अन्त्य गर्नुपर्छ। ऋण लिएपछि त्यसबाट आम्दानी सुनिश्चित हुनु जरुरी छ।”
उनले विदेशी ऋण सदुपयोग गरेर आम्दानी हुने संरचना निर्माणमा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै सरकारले दीर्घकालीन सोच राखेर लगानी गर्नु पर्ने धारणा राखे।