एसपीलाई गालीगलौज र धम्की दिँदा जसपा नेता अशोक यादवविरुद्ध कारबाही प्रक्रिया अघि बढ्यो


सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काबीचको टेलिफोन संवाद विवादको विषय बनेको छ। यादवले एसपी खड्कालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका छन्।

सार्वजनिक अडियो अनुसार, यादवले प्रहरीले सर्लाहीमा सर्वसाधारण र व्यापारीलाई अनावश्यक दुःख दिइरहेको आरोप लगाउँदै, ‘तस्करी नियन्त्रण’को नाममा निर्दोष नागरिकलाई फसाउने र वास्तविक दोषीलाई जोगाउने कार्य बन्द गर्न चेतावनी दिएका थिए। उनले फोनमा एसपीलाई ‘मधेशमा लुट्न आएका’ आरोप लगाएका थिए, जसले विवाद चर्किएको हो।

यादवको अभिव्यक्तिपछि प्रहरीले उनलाई पक्राउ गर्न सर्लाहीस्थित घरमा पुग्दा थप तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरी पुगेको सूचना पाउँदासाथ यादव समर्थकहरूले विरोध जनाउँदै प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईको कमाण्डमा गएको गाडीमा तोडफोड गरेका थिए।

डीएसपी राईका अनुसार बिहीबार राति करिब ११ बजे यादवलाई नियन्त्रणमा लिन टोली गएको भए पनि बाटोमै यादवका छोरासँग विवाद भएको र गाउँलेहरूको अवरोधका कारण टोली फर्किन बाध्य भएको थियो।

यसबिच, यादवले आफू जनकपुरमा रहेको दाबी गरेका छन्। “फोनमार्फत एसपीसँग कुरा गरेको हुँ, तर म अहिले जनकपुरमै छु। हिजो रातिदेखि दुई पटक मलाई पक्राउ गर्न दर्जनौँ प्रहरी घर आएको छ। म बाहिर भएको बेला घरमा भएका मान्छेलाई प्रहरीले दुःख दिएको छ,” यादवले प्रतिक्रिया दिएका छन्।

एसपी खड्काले भने, जिल्ला विकास पूर्वाधार कार्यालयमा यादव गुण्डागर्दी शैलीमा संलग्न रहेको भन्ने उजुरीपछि अनुसन्धानका लागि प्रहरी टोली पठाइएको बताएका छन्। सोही क्रममा यादवको प्रतिक्रिया उत्तेजित र आपत्तिजनक रहेको एसपीको भनाइ छ।

प्रहरीका अनुसार यादवको खोजी जारी छ र तोडफोड तथा दुर्व्यवहार सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्