बेलबारी–५ मा परम्परागत सीप संरक्षण र स्वरोजगार प्रवर्द्धनका लागि तीन दिने तालिम सुरु


बेलबारी । परम्परागत सीपको संरक्षण गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले बेलबारी–५ स्थित कसेनी सामुदायिक सिकाइ केन्द्रले तीन दिने सीपमूलक तालिम सुरु गरेको छ। बाँसबाट बन्ने डोको, चित्रा, घुम लगायतका घरेलु सामग्री निर्माणसम्बन्धी तालिम सोमबार एक कार्यक्रमका बिच औपचारिक रूपमा सुरु गरिएको हो।

तालिमको उद्घाटन वडा नं. ५ का वडाध्यक्ष डिल्ली बहादुर कटुवाल र केन्द्रका अध्यक्ष उदय बहादुर राईले संयुक्त रूपमा गरे। सिकाइ केन्द्रका सचिव पुष्कर शर्माका अनुसार तालिम अनौपचारिक शिक्षाअन्तर्गत सञ्चालन हुने नियमित कार्यक्रममा समावेश गरिएको हो।

यस तालिममार्फत परम्परागत सीप हस्तान्तरण गर्दै सहभागीहरूलाई स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन्। सचिव शर्माले थप बताए, गाउँमै आधारित सीप विकास कार्यक्रमले न केवल स्थानीय रोजगारी सिर्जना गर्छ, संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुर्‍याउँछ।

असार १९ गतेदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागिताले सीप हस्तान्तरण र आत्मनिर्भरता प्रवर्द्धनमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक संस्थाले लिएको छ। कसेनी सामुदायिक सिकाइ केन्द्रको यो पहलले हराउँदै गइरहेका परम्परागत सीपहरूलाई पुनर्जीवित गर्दै स्वरोजगारको नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा दिगो विकास र सामुदायिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्