बेलबारीमा १४० व्यवसायीले गराए ढक तराजु दर्ता


बेलबारी । बेलबारीमा दुई दिने ढक-तराजु नवीकरण तथा चेक जाँच शिविर सम्पन्न भएको छ। बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार र बुधवार सम्पन्न कार्यक्रममा १ सय ४० जना स्थानीय व्यवसायीहरूले आफ्नो नापतौल उपकरणको दर्ता तथा जाँच गराएका छन्।

उद्योग वाणिज्य संघका अध्यक्ष भेष कुमार श्रेष्ठ (अशोक) का अनुसार व्यापार व्यवसायलाई सन्तुलित, मर्यादित र उपभोक्तामैत्री बनाउन कार्यक्रम सञ्चालन गरिएको हो। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा संघको कार्यालयमै शिविर सञ्चालन गरिएको थियो।

संघका महासचिव विवेक मिश्रले स्थानीय व्यवसायीहरूलाई विराटनगरसम्म धाउनुपर्ने झन्झट हटाउन बेलबारीमै नापतौल कार्यालयको टोली झिकाएर शिविर सञ्चालन गरिएको जानकारी दिए। “उपभोक्ताहरू ठगिन नदिन र व्यवसायलाई कानुनी दायराभित्र राख्न यस्तो कार्यक्रम आवश्यक थियो,” उनले भने।

शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरबाट मनीषा राईको नेतृत्वमा चार सदस्यीय टोली सहभागी थियो। टोलीले व्यवसायीहरूका ढक, तराजु, मिटर, लिटर लगायत नापतौल उपकरणहरूको मापदण्डअनुसार परीक्षण तथा प्रमाणीकरण गरेको हो।

टोली प्रमुख राईका अनुसार नापतौल उपकरण दर्ता र समयमै जाँच नगरे कानुनी कारबाही भोग्नुपर्ने प्रावधान छ। व्यवसायीहरूले प्रयोग गर्ने सबै नापतौल सामग्री अधिकृत बिक्रेताबाट खरिद गर्नुपर्ने र खरिदपछिको ३५ दिनभित्र अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको उनले जानकारी दिइन्।

बेलबारी उद्योग वाणिज्य संघले आगामी दिनमा पनि यस्ता उपभोक्ता हितका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्