बजेटमा असन्तुष्टि भए पनि मधेश सरकार छाड्ने निर्णय छैन : अध्यक्ष सीके राउत


राजविराज । जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै मधेश प्रदेश सरकार नछाड्ने बताएका छन् । शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजना कार्यान्वयनका सन्दर्भमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

अध्यक्ष राउतले जनमत पार्टी सदैव जनताको पक्षमा उभिने पार्टी रहेको उल्लेख गर्दै कृषकहरूका लागि दीर्घकालीन र दूरदर्शी योजना अघि सारेको बताए । तर प्रदेश सरकारले जनमत पार्टीका महत्वपूर्ण कार्यक्रमहरू बजेटबाट हटाएकोप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरे ।

‘हामीले कृषकहरूका लागि दीर्घकालीन योजना ल्याएका थियौं, तर तीमध्ये धेरैजसो योजना बजेटबाट हटाइयो,’ अध्यक्ष राउतले भने, ‘त्यसैले हामी असन्तुष्टि जनाएका हौँ तर अहिले नै सरकार छाड्ने निर्णय गरेका छैनौँ ।’

संघीय लोकतान्त्रिक मोर्चा सम्बन्धी प्रश्नमा उनले मोर्चाको मुख्य उद्देश्य संविधान संशोधन रहेको स्पष्ट पारे । उनले सरकारमा जानु, बाहिरिनु वा समर्थन दिनुजस्ता विषयमा मोर्चा भित्र कुनै निर्णय नभएको बताए ।

‘यो Loose Alliance मात्रै हो, मोर्चाको केन्द्रबिन्दु संविधान संशोधन हो,’ राउतले भने, ‘कुन दल सरकारमा जान्छ, फर्कन्छ, समर्थन फिर्ता लिन्छ भन्ने विषयमा हालसम्म मोर्चामा छलफल भएको छैन ।’

संविधान संशोधनका लागि आवश्यक रणनीति र प्रक्रियाबारे थप छलफल भइरहेको जानकारी दिँदै उनले भोलि पनि मोर्चाको बैठक तय भएको र त्यसपछि थप निर्णयहरू आउने बताए ।

अध्यक्ष राउतले प्रदेश र संघीय सरकारमा रहेका दलहरूले संविधान संशोधनप्रति गम्भीर हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्