बेलबारी नगरपालिकामा अराजक गतिविधिप्रति नेकपा एमालेको आपत्ति : प्रेस विज्ञप्ति


बेलबारी । बेलबारी नगरपालिकामा बिहीबार भएको अराजक घटनाप्रति नेकपा (एमाले) बेलबारी नगर कमिटीले गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाको लेखा शाखासँग सम्बन्धित विवाद समाधानका लागि छलफल र संवादको बाटो रोज्नुपर्नेमा अराजक शैली अपनाइएको भन्दै एमालेले कडा प्रतिक्रिया जनाएको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले नगर कमिटीले नगर प्रमुख दिल प्रसाद राईमाथि गरिएको अभद्र व्यवहार र कार्यालयका अन्य कर्मचारीहरूप्रति देखाइएको धाकधम्कीपूर्ण व्यवहारको कडा शब्दमा भर्त्सना गरेको छ ।

नगरपालिकाको लेखा विवादका सम्बन्धमा छलफल गर्ने नाममा जनताको हवाला दिँदै कार्यालय प्रवेश गरेको एक समूहले प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरूप्रति दुर्व्यवहार गर्नुका साथै काठ र काटी ठोक्दै जबरजस्ती तालाबन्दी गर्ने जस्ता गैरजिम्मेवार र अराजक गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुख राईले शान्तिपूर्ण र प्रक्रियागत तरिकाबाट संवाद गर्न अनुरोध गर्दा समेत समूहले नगर प्रमुखमाथि समेत अभद्र व्यवहार देखाएको भन्दै एमालेले असन्तोष व्यक्त गरेको छ ।

‘जनसरोकारका विषयमा छलफल गर्न पूर्व जानकारी दिनु सामान्य लोकतान्त्रिक आचरण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पूर्व सूचना नदिई, प्रक्रियागत बाटो नअपनाई यस्ता अराजक गतिविधि गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन हो ।’

हाल नगरपालिका नयाँ बजेट निर्माण र चालु आर्थिक वर्षको योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेको सन्दर्भमा यस्तो गतिविधिले सेवा प्रवाहमा बाधा पु¥याएको नेकपा एमालेको ठहर छ ।

विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्दै यस्ता गैरजिम्मेवार र अवाञ्छित गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षहरूलाई सचेत गराइएको छ । साथै, कर्मचारीहरूले सुरक्षित र सहज वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न सकुन् र नगरपालिका जनअपेक्षाअनुसार सुशासनमुखी कार्य सञ्चालन गर्न सकोस् भन्नेमा पार्टीको दृढता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्