सहोदर भाइको हत्या आरोपमा दाइ पक्राउ


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा आफ्नै सहोदर भाइको हत्या अभियोगमा दाइ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ४२ वर्षीय विष्णु उर्फ टेक बहादुर बादीलाई आफ्नै भाइ ३२ वर्षीय बोम बहादुर बादीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

घटना शुक्रवार साँझ करिब ६ बजे भएको हो । दुवै जना मादक पदार्थ सेवन गरेका बेला बिँडी माग्ने विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद चर्किएपछि विष्णुले बन्चरो प्रहार गरी आफ्नै भाइलाई गम्भीर घाइते बनाएका थिए ।

प्रहरीका अनुसार गम्भीर घाइते बोम बहादुरलाई तत्कालै उद्धार गरी अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै स्वास्थ्य अवस्था झन् जटिल भएपछि ठाडा स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति ११:१० बजे उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हत्या पछि फरार भएका विष्णुलाई प्रहरीले राति नै खमारीस्थित जङ्गलबाट पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय ठाडाबाट आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रहरीले विष्णुलाई शनिवार जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्