काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रवार जसपाका तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समर्थन फिर्ता गरेको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएकी हुन् ।
काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको उल्लेख छ । साथै, उनले आगामी प्रदेशसभा बैठकमा आफूलाई विपक्षीको आसनमा बस्ने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।
काफ्लेले सरकार परिवर्तन नभए पनि सरकार असफल भएकाले समर्थन फिर्ता लिएको बताइन् । ‘हाम्रो पार्टीले सरकारलाई राम्रो काम गरोस् भनेर समर्थन दिएको थियो । तर सरकार जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि समर्थन फिर्ता गर्नु उचित ठान्यौँ,’ उनले भनिन् ।
उनका अनुसार सरकारलाई दिएको समर्थनले प्रदेश सरकार तलमाथि नपर्ने भए पनि सरकारको कार्यदक्षता कमजोर भएकाले समर्थन फिर्ता गरिएको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रमा समेत सरकारलाई दिएको समर्थन फिर्ता गर्ने प्रक्रिया अघि बढाइसकेको छ । केन्द्रीय कार्यकारिणी समितिको निर्णयलाई संसदीय दलको बैठकले समेत अनुमोदन गरेपछि समर्थन फिर्ता गर्ने तयारी भइरहेको जसपाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा जसपा नेपालबाट अम्बिका काफ्ले एक मात्र सांसद हुन् ।