बेलबारी नगरपालिकाका कर्मचारीद्वारा पेन डाउन : माग सम्बोधन नभए अनिश्चितकालीन गर्ने


बेलबारी, असार १२ । मोरङको बेलबारी नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले बिहीबारदेखि पेन डाउन आन्दोलन गर्ने भएका छन् । नगरपालिका कार्यालयमा प्रवेश गरी अराजक व्यक्तिहरूबाट कर्मचारीहरूप्रति भइरहेका अभद्र व्यवहार र व्यक्तिगत जीवनमा लक्षित आरोपका कारण कामकाज गर्न असहज भएको जनाउँदै उनीहरूले आन्दोलनमा उत्रिएको घोषणा गरेका हुन् ।

नगरपालिका कार्यालयमै प्रवेश गरी कर्मचारीहरूमाथि गरिएको दुर्व्यवहार, व्यक्तिगत जीवनमा लक्षित आक्षेप र सामाजिक सञ्जालमार्फत चरित्र हत्या प्रयासका घटना दोहोरिएपछि कर्मचारीहरूले आक्रोश पोखेका छन् । आर्थिक वर्षको अन्त्यको संवेदनशील समयमा समेत यस्ता अकल्पनीय घटनाहरू दोहोरिएपछि आफूहरू कामकाज गर्न असमर्थ भएको उनीहरूको भनाइ छ ।

कर्मचारीहरूलाई कार्यस्थलमै आक्रमण गर्ने नियत देखाएर प्रवेश गर्ने, सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, व्यक्तिगत जीवनमा आक्षेप लगाउने जस्ता गतिविधिहरूले उनीहरूको आत्मसम्मान र सुरक्षामा गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा हालै नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृतमाथि समेत जानकारी नहुँदै कार्यकक्षमै अपमानजनक व्यवहार गरिएको, कर्मचारीहरूलाई कार्यालयबाट जबरजस्ती घिसार्ने धम्की दिइएको र सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमार्फत गालीगलौज गरेको उल्लेख छ ।

कर्मचारीहरूले दोषीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ अनुसार कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोडदार माग गरेका छन् । विज्ञप्तिमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई यथाशीघ्र समस्या समाधान गरी सुरक्षित र सहज कार्य वातावरण सृजना गर्न आग्रह गरिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत घटनाबारे जानकारी गराइएको छ ।

उपप्रमुख नितु थापा र लेखा अधिकृत धनमाया राईबिच उत्पन्न विवादले पनि कर्मचारी असन्तोषलाई थप चुल्याएको छ । उपप्रमुख थापाले आर्थिक वर्ष २०८१/०८२ को सम्पूर्ण खर्च शीर्षक विवरण माग गरेपछि विवाद सार्वजनिक बनेको हो । लेखा अधिकृत राईले खर्च शीर्षक अनुसार विवरण उपप्रमुखलाई दिएको बताउँछिन् । तर व्यक्तिगत विवरण भने प्रमुख प्रशासकीय अधिकृतको अनुमति विना दिन नसकेको बताइन । निश्चित अधिकार भन्दा बाहिर रहेर काम गर्न नसक्ने राई बताउँछिन् । तर अनुमति भए जहिले सबै विवरण विधि नियम अनुसार दिन तयार रहेको उनले बताइन ।

यसै विवादकै सिलसिलामा स्थानीय एक समूहले केही समयका लागि नगरपालिकाको लेखा शाखा बन्द गराएपछि थप तनाव उत्पन्न भएको थियो । कामले कार्यालय बाहिर गएका बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले फर्किए पछि लेखा शाखा बन्द गर्न रोकेका थिए । स्थानीयहरूले ६ बुँदे माग पत्र पनि बुझाएका छन् ।

आज यसै विवादमा उपप्रमुख थापाले लेखा अधिकृत राई लेखा शाखाको जिम्मेवारीमा अस्वीकार गर्ने खुल्ला रूपमा अडान व्यक्त गरीकी छिन भने कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूले दोषीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ अनुसार कारबाही गर्न माग गर्दै नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समस्या समाधानमा अग्रसर हुन आग्रह गरेका छन् । साथै जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत घटनाबारे औपचारिक जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्