सुनसरी, असार ११ । सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट ठूलो परिमाणमा प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले असार १० गते राति धरान–५ झर्नाचोकमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठामा खानतलासी गर्दा उक्त औषधिहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार राईको कोठाबाट जेब्रा झोलामा लुकाई राखिएको अवस्थामा विभिन्न ब्रान्डका प्रतिबन्धित औषधिहरू फेला परेका छन् । बरामद औषधिहरूमध्ये ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट रहेका छन् ।
पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनले लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएको आशंका गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।