बेलबारी । गरिबी निवारण अभियान अन्तर्गत नि:शुल्क एक महिने बेसिक ब्युटिसियन तालिम सम्पन्न गरिएको छ । बेलबारी–८ राधानगरस्थित श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बुधबार आयोजित कार्यक्रमबीच तालिम समापनसहित प्रमाणपत्र तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले प्रशिक्षार्थीहरूलाई शुभकामना दिँदै समूहद्वारा संचालित सामाजिक क्रियाकलापहरूको प्रशंसा गरे । नगर प्रमुख राईले प्रशिक्षार्थीहरूले तालिममा सिकेका सीपलाई व्यवहारिक रुपमा आत्मनिर्भरता र रोजगारी सृजनातर्फ प्रयोग गर्न आग्रह गरे ।
श्री सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा ग्ल्याम बक्स मेकअप स्टुडियो एण्ड ब्युटी सलुन, बेलबारी–२ को प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिममा ४६ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । तालिम अवधिभर ब्युटिसियन सम्बन्धी आधारभूत सीपहरू सिकाइ गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा फेकोफेन महासंघकी केन्द्रीय सदस्य रोहिनी गौतम, बेलबारी सब–डिभिजन वन कार्यालयका अधिकृत दीपेश मिश्र, समूहका सल्लाहकार संयोजक समर बहादुर तामाङलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । प्रशिक्षक तथा ग्ल्याम बक्सकी प्रमुख नैना राईले तालिमपछि प्रशिक्षार्थीहरूलाई सिकेका सीपलाई व्यवसायिक रूपमा उपयोग गर्दै आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गरिन् ।
कार्यक्रममा झन्डै दुई लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको समूहले जनाएको छ । जनता माध्यमिक विद्यालय, बेलबारी–८ का १४ जना विद्यार्थीलाई १ लाख ५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति, सुकुना आधारभूत विद्यालयलाई ७२ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री र रणपाल आधारभूत विद्यालयलाई २३ हजार रुपैयाँ बराबरको कापी–कलम वितरण गरिएको हो ।
समूहले चालु आर्थिक वर्षभित्र ६५ घरपरिवारका ३०० जना व्यक्तिहरूको स्वास्थ्य बीमा समेत गराएको जानकारी गराइएको छ । साथै, अन्य सामाजिक क्षेत्र, रोजगार प्रवर्द्धन तथा विशेष गरी खेलकुद विकासमा समेत निरन्तर लगानी गरिरहेको समूहका अध्यक्ष लक्ष्मण तामाङले बताए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले आफ्नो अनुभव साटासाट गर्दै तालिमले आत्मविश्वास तथा स्वरोजगारको बाटो देखाएको अनुभव सुनाएका थिए । कार्यक्रमको स्वागत मन्तव्य समूहका सह–सचिव कृष्ण फ्याकले राखेका थिए भने सञ्चालन सचिव विमल लिम्बुले गरेका थिए । कार्यक्रम समूहका अध्यक्ष लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।