सुन्दरहरैँचा न.पाले ल्यायो १ अर्ब ७१ करोड बराबरको बजेट : पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा


विराटचोक, मोरङ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सुन्दरहरैँचा नगरपालिकाले १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार उपप्रमुख अकली चौधरीले नगरसभा समक्ष बजेट प्रस्तुत गर्दै पूर्वाधार, सामाजिक विकास र समुचित वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको स्पष्ट पारिन्।

नगरपालिकाले सामाजिक विकासका लागि ४६ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ भने पूर्वाधार निर्माणको लागि ६१ करोड ३७ लाख रुपैयाँ छुट्याएको छ। आर्थिक क्षेत्रको विकासका लागि २ करोड ८६ लाख रुपैयाँ छुट्याइए पनि, तुलनात्मक रूपमा पूर्वाधार र सामाजिक पक्षमा झनै ध्यान केन्द्रित गरिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७५ लाख र सुशासन एवं संस्थागत विकासतर्फ २ करोड ६३ लाख विनियोजन गरिएको छ। नगरपालिकाले धेरै योजनाहरूलाई बहुवर्षीय रूपमा अघि बढाउँदै आएको छ, जसअनुसार यस वर्ष पनि ६ करोड रुपैयाँभन्दा बढी क्रमागत आयोजनाहरू कार्यान्वयनमा खर्चिने योजना बनाइएको छ।

नगर तथा वडास्तरमा सन्तुलन कायम गर्ने उद्देश्यले वडागत बजेट अन्तर्गत चालु खर्चका लागि झन्डै ३ करोड ७७ लाख र पुँजीगत खर्चका लागि १४ करोड ५९ लाख रकम विनियोजन गरिएको छ। नगर र वडा साझेदारीमा वडा गौरवको आयोजना अघि बढाउन ६ करोड विनियोजन गरिएको छ भने प्रशासनिक र कार्यालय सञ्चालनतर्फ २५ करोड ५० लाख छुट्याइएको छ। यसरी चालु खर्चतर्फ ८२ करोडभन्दा बढी र पुँजीगत खर्चतर्फ ८७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेट प्रस्तुतिसँगै नगरपालिकाले आर्थिक स्रोतको स्पष्ट अनुमानसमेत सार्वजनिक गरेको छ। नगरकै आन्तरिक आम्दानीबाट १६ करोड संकलन गर्ने लक्ष्य लिइएको छ। नदीजन्य पदार्थ, बन क्षेत्रको ढुंगा गिट्टी तथा मालपोत दस्तुरजस्ता स्थानीय स्रोतहरूबाट समेत आय संकलन गरिनेछ। संघीय सरकारबाट मूल्य अभिवृद्धि कर, अन्त शुल्क र रोयल्टीमार्फत १६ करोडभन्दा बढी राजस्व प्राप्त हुने अपेक्षा गरिएको छ।

वित्तीय समानीकरण अनुदान, सशर्त तथा विशेष अनुदान शीर्षकमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमले नगरको बजेटको ठुलो हिस्सा ओगट्ने देखिन्छ। यस वर्ष मात्र संघीय सशर्त अनुदानमार्फत चालु खर्चतर्फ ३६ करोडभन्दा बढी र पुँजीगत खर्चतर्फ ३४ करोडको अनुमान गरिएको छ।

नगरपालिकाले विगतमा अगाडि सारेका केही योजना यस वर्ष सम्पन्न गर्ने गरी अघि बढाउने तयारी गरेको छ। त्यस्तै, विदेशी सहयोग (अल्याबाट) समेत १३ करोड बराबरको सहयोग प्राप्त हुने अपेक्षा नगरपालिकाले गरेको छ।

नगर प्रमुख केदारप्रसाद गुरागाईँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलपछि सर्वसम्मतिले पारित गरिएसँगै बजेट दस्ताबेज नगरसभाको औपचारिक छलफलमा पुगेको हो। आगामी शुक्रवार यस बजेटलाई अन्तिम स्वीकृतिका लागि सभामा टेबुल गरिने छ।

नगर उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटले सुन्दरहरैँचाको समावेशी विकास, आर्थिक सुदृढीकरण र सेवा प्रवाहमा थप गति ल्याउने विश्वास गरिएको छ। नीति तथा कार्यक्रमलाई कार्यान्वयनमुखी बजेटले टेवा पुर्‍याउने अपेक्षा नगरपालिकाले राखेको छ।

प्रतिक्रिया दिनुहोस्