काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आज (आइतबार) रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ रुपैयाँले बढाएर १६० रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँको वृद्धि गरिएको छ। मूल्यवृद्धिपछि डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १४५ रुपैयाँ पुगेको छ।
आयल निगमका अनुसार आइतबार दिउँसो इण्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ महँगिएर आएको हो। सोहीअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।
निगमले अन्तर्राष्ट्रिय बजार मूल्य तथा भारतीय पक्षबाट प्राप्त मूल्य अनुसार समायोजन गर्नुपरेको जनाउँदै उपभोक्ताको हितलाई ध्यानमा राखी न्यूनतम दरमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
पछिल्ला केही महिनादेखि विश्व बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेको अवस्थामा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिन थालेको छ।